Wednesday, June 27, 2018

अर्जेन्टिनालाई अझै गाह्रो

अर्जेन्टिनाका लागि सोमबार राति नाइजेरियाविरुद्धको खेल निकै महत्त्वपूर्ण थियो, किनभने यसले नै विश्वकप २०१८ मा उसको यात्रा निर्धारण गर्ने तय थियो । त्यसैले समूह ‘डी’ को यो खेल अगाडि अर्जेन्टिना निकै दबाबमा थियो ।
अर्जेन्टिनामाथि जित्नै पर्ने दबाब थियो। यो दबाब टिममा मात्र थिएन, सायद त्यो भन्दा पनि चर्को दबाब कप्तान लियोनल मेसीमाथि थियो।
यस्तै परिस्थितिमा अर्जेन्टिनाले नाइजेरियाविरुद्ध बल नियन्त्रणमा राखेर आक्रमण गर्ने रणनीति लियो। यसअघिका दुई खेलको तुलनामा अर्जेन्टिनाले यसपल्ट धेरै राम्रो खेल्यो पनि। खराब प्रदर्शनको आरोप झेलिरहेका लियोनल मेसीले पनि यो खेलमा राम्रो गरे। उनकै गोलको मदतले अर्जेन्टिनाले सुरुआती अग्रता लिन सफल रह्यो।
उनले १४ औं मिनेटमा गोल गरेका हुन्। यो गोलपछि उनमा दबाब कम भएको महसुस गरेको हुनु पर्छ र यो खेलको क्रममा उनको अनुहारबाट प्रस्टै देखिन्थ्यो। उनले गरेको गोल पनि आफैमा उत्कृष्ट थियो। नाइजेरिया भने बलियो रक्षापंक्ति राख्दै काउन्टर–एटयाकमा जोड दिइरहेको थियो। यसैक्रममा उसले पेनाल्टी पनि पायो र गोल पनि गर्‍यो।

खेलको निर्णायक गोल भने मार्कोस रोजोको नाममा रह्यो, त्यो पनि ८६ औं मिनेटमा। त्यसयता नाइजेरियासँग खेलमा फर्कने समय नै थिएन्। जितसँगै अन्तिम १६ को चरणमा प्रवेश गरेयता अर्जेन्टिनाले धेरै राहत महसुस गरिरहेको हुनु पर्छ। तर नकआउट चरणमा अर्जेन्टिनाले लिग चरणमा जस्तै खेल्ने हो भने टिमलाई निकै गाह्रो हुने तय छ।
यसै समूहको अर्को खेलमा क्रोएसियाले आइसल्यान्डलाई २–१ ले हरायो। क्रोएसियाले यो खेल विना कुनै दबाब खेलेको थियो र यसका लागि आफ्नो केही नयाँ खेलाडीलाई पनि मौका दिएको थियो। तर पनि क्रोएसिया जित निकाल्न सफल रह्यो। नाइजेरिया र आइसल्यान्ड घर फर्कने छन् र तिनलाई यो तथ्यमा दु:ख हुनेछ।


यसअघि समूह ‘सी’ मा फ्रान्स र डेनमार्कले गोलरहित बराबरी खेले। दुवै टिमले यो खेलमा बराबरी खेल्ने मनसायले मैदानमा उत्रेको जस्तै देखियो। दुवै टिमले पर्याप्त आक्रमण गर्न गरेनन्। यसै समूहको अर्को खेलमा अस्ट्रेलिया पेरुको हातबाट पराजित रह्यो। पेरु यसअघिका दुई खेलमा पराजित रहेर प्रतियोगिताबाट बाहिरिसकेको थियो।
अस्ट्रेलियासामु भने अझै मौका थियो, नकआउट चरण पुग्ने। तर यसमा पेरु नै विजयी रह्यो, २–० ले। त्यसैले अस्ट्रेलियाका लागि पनि यो निराशाजनक नतिजा रह्यो। यो खेलको सामान्य विश्लेषण के रह्यो भने दुवै टिमले यस खेलमा अवसर सिर्जना गरे। खालि फरक के भन्दा पेरुले ती मौकाको सदुपयोग गर्न सक्यो, अस्ट्रेलियाले भने सकेन।
(न्यौपाने राष्ट्रिय टिमका पूर्व खेलाडी हुन्। उनी हाल त्रिभुवन आर्मी क्लबका प्रशिक्षक छन्। उनले केही समय अगाडि मात्र एसियाली फुटबल महासंघको प्रशिक्षक ‘ए’ लाइसेन्स कोर्स उतीर्ण गरेका छन्।)
Source: Kantipur

अर्जेन्टिनालाई अझै गाह्रो

अर्जेन्टिनाका लागि सोमबार राति नाइजेरियाविरुद्धको खेल निकै महत्त्वपूर्ण थियो, किनभने यसले नै विश्वकप २०१८ मा उसको यात्रा निर्धारण गर्ने तय...